SOI DHOLE SOI ARKO DHOLE KHOI ( RAJESH PAYAL RAI )

यूवा कवि प्रवीण राईको कविता कृति


रोजगारीका लागि १ वर्ष अघि इपिएस मार्फत दक्षिण कोरिया आएका यूवा कवि प्रवीण राईको कविता कृति "व्याकुल बिहानी" दक्षिण कोरियामा बिमोचन गरिएको छ । फष्ट नेपाल रेष्टुरेन्टमा आईतवार गरिएको पुस्तक बिमोचन समाहरोमा नेपाल पत्रकार महासंघका प्रमूख सल्लाहकार रघु त्रिपाठी, नेपाल आदिवासी जनजाति महासघका उपाध्यक्ष मुकुन्द राई, एनआरएनका उपाध्य लोचन राई, खोटाङ सेवा समाजका अध्यक्ष चिरन कार्की, किराँत राई यायोख्खाका अध्यक्ष टिका राई लगायत अन्य साहित्य प्रेमीहरुको उपस्थिती रहेको थियो । सो अवसरमा कवि प्रवीण राईले ब्याकुल बिहानीको बारेमा चर्चा गर्द सो पुस्तकमा ३५ वटा कविता संग्रहहरु समावेश रहेको बताए । जस्मा तमाम मानिसका आवाज, पिडा, चाहना र सपनाहरुको उत्खनन गर्ने प्रयास गरिएको उनले बताए । कवि राईले सिर्जनाहरुमा आफ्नै मौलिक तथा समवेशी आवाजहरु रहेको धारण ब्यक्त गर्दै आफ्नो पहिलो कृति बिमोचन गर्न पाएको खुशी ब्यक्त गरे । कार्यक्रममा उपस्थित सहभागिहरुले सिर्जनशिल यूवा कवि राईको सफताको लागि शुभकामना ब्यक्त गरेका थिए ।

Read more...

दल खोल्दै जनजाति !

काठमाडौ, असार २३ - लामो समयदेखि सामाजिक, सांस्कृतिक अधिकारका लागि आन्दोलनरत आदिवासी जनजातिले अन्ततः आफ्नो छुट्टै राजनीतिक पार्टी खोल्ने तयारी गरेका छन् । उनीहरू हालैको राष्ट्रिय राजनीतिक सम्मेलनपछि पार्टी खोल्न हौसिएका हुन् । राजनीतिक दलका रूपमा राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सकिने आँकलन गर्दै उनीहरू अघि बढेका हुन् ।

संविधानसभाको विघटन र त्यसमा राजनीतिक दलका नेताहरूको भूमिकाबारे समीक्षा गर्न भेला भएका करिब एक हजार आदिवासी जनजाति अगुवाहरूले दुई दिन छलफल गरेपछि राजनीतिक पार्टी खोल्ने निष्कर्ष निकालेका हुन् ।

भेलामा आदिवासी जनजाति महासंघ, उसको भगिनी संगठन, विभिन्न क्षेत्रीय तहमा रहेका जातीय राजनीतिक दल तथा प्रमुख राजनीतिक दलका आदिवासी जनजाति अगुवाहरू सहभागी थिए । यसको एक आयोजकमध्ये यसअघि संविधानसभामा प्रतिनिधित्व गर्ने आदिवासी जनजाति सभासदहरूको समूह ककस पनि थियो ।

'प्रतिनिधिको तत्काल सम्मेलनबाटै राजनीतिक पार्टी गठन घोषणा गर्नुपर्छ भन्ने चर्को आवाज थियो,' महासंघका कोषाध्यक्ष डन्डु शेर्पाले भने, 'तर व्यापक रूपमा छलफल र आवश्यक गृहकार्यपछि मात्र पार्टी खोल्ने सहमति भएको छ ।'

सम्मेलनको यो निर्णयले खास गरेर कांग्रेस र एमालेमा असन्तुष्ट बनेर रहेका नेताहरूलाई पार्टी छाडेर नयाँ शक्ति निर्माणमा लाग्न दबाब दिने काम गरेको मान्नेहरू पनि छन् । 'यसअघि प्रमुख दलहरूले नै सवालहरूको सम्बोधन गरिदेलान् भन्नेहरूलाई यसले छाडेर नयाँ पार्टी बनाउन दबाब पुुगेको छ,' डा. कृष्ण भट्टचनले भने, 'आम आदिवासी जनजातिमा पार्टीहरूप्रति मोह भंग भएको अवस्था हो ।'

एमाले उपाध्यक्ष अशोक राई, पोलिटब्युरो सदस्यहरू पृथ्वी सुब्बा गुरुङ, वैकल्पिक पोलिटब्युरो सदस्य विजय सुब्बा, केन्द्रीय सदस्यहरू किरण गुरुङ, अजम्बर काङदाङ्वालगायत असन्तुष्ट नेताहरू तथा कांग्रेसका केन्द्रीय सदस्य इन्द्रबहादुर गुरुङ, जिपछिरिङ शेर्पा, सूर्यमान गुरुङलगायत नेताहरू दुईदिने सम्मेलनमा सहभागी थिए । उनीहरू साथमा पूर्वसभासद तथा मध्यमस्तरका नेता कार्यकर्ताहरू पनि सहभागी थिए । उनीहरू आफ्ना पार्टीले लिएको नीतिमा असन्तुष्ट छन् ।

सम्मेलनपछि जारी घोषणापत्रको छैटौं बुँदामा प्रमुख राजनीतिक दलहरू बाहुनवादी, पितृसत्तावादी र एकल 'उच्च' जातीय प्रभुत्ववादी नेतृत्वको कब्जामा रहेको आरोप लगाउँदै सामाजिक न्याय, समता र समानता तथा आदिवासीवादको सिद्धान्तमा आधारित, समानुपातिक समावेशी राजनीतिक दलको निर्माण आवश्यक रहेको उल्लेख गरिएको छ ।

साथै राजनीतिक दलहरूमा आबद्ध आदिवासी जनजाति नेता तथा कार्यकर्तालाई समेत नयाँ राजनीतिक शक्ति निर्माणका लागि समयमै निर्णय गरेर सहभागिता जनाउन आह्वान गरिएको छ । सम्मेलनमा सहभागीमा नेताहरू मात्र होइन, जिल्ला तथा गाउँ तहबाट आएका प्रतिनिधिहरू पनि कुनै न कुनै राजनीतिक दलमै आबद्धहरू थिए । 'हालमा राजनीतिक दलहरूभित्रै रहेर संघर्ष गरौं भन्ने मत नभएको होइन । तर त्यस्तो मत राख्नेहरू ज्यादै थोरै मात्र देखा परे,' शेर्पाले भने ।

राजनीतिक सम्मेलनका लागि महासंघका अध्यक्ष राजकुुमार लेखी थारू, महासचिव आङकाजी शेर्पा किसान, बमकुमारी बुढा, खगेन्द्र माखिम, ज्योति दनुवार, पासाङ शेर्पा, डा. चैतन्य सुब्बा र डा. कृष्ण भट्टचन रहेको कार्यदलले अवधारणापत्र बनाएको थियो ।

अवधारणापत्रले राजनीतिक दलको गठन एउटा विकल्पको रूपमा राखेर पार्टी सञ्चालनको आर्थिक योजनासमेत प्रस्तुत गरेको थियो । उक्त प्रस्तावलाई तत्काल सम्मेलनले केही परिमार्जनसहित पारित गरेको जनाइएको छ । प्रस्तावमा दक्षिणपन्थी राजावादी, कांग्रेस-एमालेलाई प्रक्रियागत लोकतन्त्रवादी अर्थात् ब्राह्मणवादी मध्यपन्थी र दुवै माओवादीलाई वामपन्थी उल्लेख गर्दै तीन थरी धारले आदिवासी जनजातिको भावना समेट्न नसकेको दाबी गरिएको छ ।

प्रस्तावमा दक्षिणपन्थी राजावादीहरूले घोषित रूपमै २०४७ को संविधान ब्युँताउन चाहेको उल्लेख छ । तत्कालीन सात दल र माओवादीबीच भएको १२ बुँदे दिल्ली सहमतिपछि सुरु राजनीतिक यात्रालाई 'कोर्स करेक्सन' गरी इतिहासलाई फर्काउनतिर प्रयास केन्दि्रत रहेको उल्लेख छ । उक्त शक्तिले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रलाई उल्ट्याएर हिन्दु राष्ट्र, एकात्मक राज्यव्यवस्था र राजतन्त्रको पुनःस्थापना र खस आर्य नियन्त्रित प्रशासनको निरन्तरता चाहेको आरोप छ ।

कांग्रेस र एमालेलाई ब्राह्मणवादी भएको आरोप लगाउँदै संविधानसभाको हत्या गराउनमा प्रमुख हात रहेको प्रस्तावमा उल्लेख छ । यिनीहरूले अघोषित रूपमा २०४७ को संविधान ब्युँताउन चाहेको र दिल्ली सहमतिपछि सुरु राजनीतिक यात्रालाई 'कोर्स करेक्सन' गर्नुपर्ने दक्षिणपन्थी राजावादीहरूको विचारसित सहमत रहेको उल्लेख गरिएको छ ।

दुवै माओवादीलाई 'क्रान्तिकारी आवरणभित्र बाहुनवादी कुलीनतन्त्रको निरन्तरता चाहने' बताइएको छ । अन्तरिम संविधान दुवै माओवादीका लागि प्रक्रियागत लोकतन्त्रवादीहरू अर्थात् ब्राह्मणवादी मध्यपन्थी कांग्रेस र एमालेसँग मिलाप गर्ने केन्द्रविन्दु भएको उल्लेख गरिएको छ ।

आदिवासी जनजातिहरूले खोल्ने पार्टीको सिद्धान्त आदिवासीवाद, सामाजिक न्याय, समानता, समन्यायिकता, स्वतन्त्रता, समावेशीकरण/समावेशी लोकतन्त्र, बहुसांस्कृतिवाद -सांस्कृतिक, भाषिक, धार्मिक बहुलवाद, धर्मनिरपेक्षता), आत्मनिर्णयको अधिकारसहित सामाजिक अधिकारहरू हुने उल्लेख गरिएको छ । त्यस्तै, समान शक्ति सम्बन्धमा आधारित सुदृढ सामाजिक सम्बन्ध, पहिचानको सम्मान र पहिचानमा आधारित संघीयता, वातावरणवाद, समानुपातिक प्रतिनिधित्व/राजनीतिक लोकतन्त्र, आर्थिक लोकतन्त्र/लोकतान्त्रिक अर्थतन्त्र, लैंगिक समानता/मूलप्रवाहीकरण/लैंगिकीकरण, समन्यायिक तथा समावेशी विकास र क्षेत्रीय तथा जातीय सन्तुलन र सहकार्यको सिद्धान्त पनि रहने उल्लेख छ ।

'खासमा सम्मेलनले संविधानसभा विघटनपछिको अवस्थाबारे छलफल गर्ने र कसको के भूमिका रह्यो भन्ने कुरा छलफल गर्न चाहेको हो,' अवधारणापत्र तयार गर्नेमध्ये एक डा. चैतन्य सुब्बाले भने, 'तर राजनीतिक दलहरूप्रति जुन प्रकारको आक्रोश र असन्तुष्टि छ, त्यसले तत्काल नयाँ पार्टीको गठन आवश्यक छ भन्नेतर्फ सम्मेलनलाई डोर्‍यायो ।'

महासंघले राजनीतिक सम्मेलन यसअघिका वर्षहरूमा पनि गर्ने गर्दथ्यो । सामाजिक सांस्कृतिक मात्र होइन, राजनीतिक विषयमा पनि छलफल गर्नुपर्छ भन्दै उनीहरूले संघीयता, धर्म निरपेक्षतालगायत विषयमा केही वर्षदेखि छलफल मात्र होइन, अगुवाहरूबीच साझा अवधारणा बनाउने काम गर्दै आएको थियो । तर यसपालिको सम्मेलनमा भने विकल्पकै रूपमा दल खोल्ने प्रस्ताव प्रस्तुत गरिएको हो ।

डा. सुब्बाका अनुसार दल खोल्ने प्रस्ताव एकैचोटि आकस्मिक रूपमा आएको भने होइन । लामो समयदेखि भइरहेको छलफल र यसले पार्न सक्ने प्रभावबारे भइरहेको विचार मन्थनकै एउटा नतिजाका रूपमा आएको हो । विभिन्न तहमा र क्षेत्रमा आदिवासी जनजातिलगायत उत्पीडित, उपेक्षितहरूको छुट्टै राजनीतिक शक्ति चाहिन्छ भन्ने विषयमा लामै समयदेखि छलफल भइरहेको उनको भनाइ छ ।

यद्यपि पार्टी कस्तो बन्ने भन्ने सम्बन्धमा चाहिँ निक्र्योल गरिसकेको छैन । त्यसका लागि भेलाले केन्द्रीय तहमा नेताहरूलाई नै जिम्मा छाडेको छ । 'नेताहरू अघि नबढे विभिन्न क्षेत्रमा राजनीतिक शक्ति निर्माण गरिने चेतावनीसमेत दिएका छन्,' डा. सुब्बा भन्छन्, 'अहिले दलमा रहेका नेताहरूलाई सम्मान गरिए पनि उनीहरूले नयाँ पार्टीको पहल नलिएमा दोस्रो र पछिल्लो पुस्तासमेत तयार रहेको अभिव्यक्ति आएको छ ।'

त्यसो त यसअघि पनि आदिवासी जनजातिका नेताहरूले राजनीतिक दल खोल्ने जमर्को नगरेका होइनन् । खगेन्द्रजंग गुरुङ, गोरेबहादुर खपांगीहरू पहिलो पुस्ताका जनजातीय दल खोल्ने नेता थिए । २०४८ सालकै निर्वाचनमा पनि गोपाल गुरुङको मंगोल नेसनल अर्गनाइजेसन र खगेन्द्रजंगको नेपाल जनजाति पार्टी निर्वाचन अयोगले दर्ता गर्न दिएको थिएन । संविधानसभाको निर्वाचनका बेला पूर्वमा कुमार लिङ्देन, पश्चिम तराईमा लक्ष्मण थारू, मध्य पहाडमा पर्शुराम तामाङ, उपत्यकामा केशवमान शाक्यले पनि पार्टी खोलेका थिए । उनीहरूले राष्ट्रिय राजनीतिमा खासै प्रभाव पार्न सकेनन् ।

डा. सुब्बाको बुझाइमा ती पार्टीहरूको गठन र अहिले हुन लागेको राजनीतिक शक्तिको पृष्ठभूमि नै फरक छ । उनीहरूले एउटा जाति या क्षेत्रलाई मात्र लक्ष्य बनाए भने अहिले राष्ट्रिय रूपमा आदिवासी जनजातिसहित अन्य उत्पीडितहरूलाई समेत समेट्ने प्रयास भइरहेको छ । 'विगतमा ७/१० जना मिलेर बनाएको जस्तो अहिलेको होइन, यसमा उहाँहरूसमेत सहभागी हुनुहुन्छ,' उनले भने, 'यसले आदिवासी जनजाति र अन्य उत्पीडितहरूको मुद्दा उठाउँदा कमसेकम ७० प्रतिशतभन्दा बढी जनताकै मुद्दा उठाउने छ ।'

आदिवासी जनजातिलगायत उत्पीडितहरूको छुट्टै पार्टी बनाउने अभियानमा सहभागी रहेका समाजशास्त्री कृष्ण भट्टचन पार्टी बन्यो भने मुलुुकको राजनीतिक सन्तुलनको अवस्था नै परिवर्तन हुने दाबी गर्छन् । नयाँ बन्ने पार्टीले राष्ट्रिय स्वरूप पाउने तथा कांग्रेस र एमाले जस्ता पार्टीहरूको अवस्था नाजुक बन्ने उनको अनुमान छ ।

अवधारणाका प्रस्तोतामध्ये एक भट्टचनले छलफलकै क्रममा रहे पनि आदिवासीवाद र सामाजिक न्याय नयाँ पार्टीको मूल सिद्धान्त हुने कुरा बताए । 'आदिवासी जनजातिहरूका लागि आदिवासीवाद र अन्य उत्पीडितहरूका लागि सामाजिक न्यायको सिद्धान्त अंगिकार गरिने छ,' उनले भने, 'त्यसमा सहमत सबै पार्टीमा अटाउने छन् ।'

त्यसो भए आदिवासीवाद भनेको के हो त ? डा. भट्टचनको बुुझाइमा आदिवासीवाद ब्रह्माण्डकै सबैभन्दा पुरानो विचार धारा हो, जसमा पृथ्वीलाई आमाका रूपमा लिइन्छ र सबैको कल्याणको कुरा गरिन्छ । यो आदिवासी जनजातीय समुदायहरूमा अझै कायम छ । त्यसैलाई राजनीतिक दर्शनका रूपमा स्थापित गरिने छ । उनको बुझाइमा माक्र्सले भनेको अदिम साम्यवादसमेत आदिवासीवादमै आधारित थियो ।

नयाँ राजनीतिक दल खोल्नका लागि एमाले, कांग्रेस, माओवादी र अन्य दलमा समेत रहेका आदिवासी जनजाति नेताहरूले धेरै पटक आफ्नै पाराले छलफल गरेका छन् । यसअघि केही बुद्धिजीवीहरूले पनि डा. हर्क गुरुङकहाँ पुगेर राजनीतिक दल खोल्ने कुरामा छलफल गरेका थिए । 'उहाँले अहिले बेला भएको छैन भन्नुभएको थियो,' डा. सुब्बाले भने, 'अहिले परिस्थिति बनेको छ ।' यद्यपि आदिवासी जनजाति अगुवाहरूले पार्टी खोल्न नहतारिने बताएका छन् । योजनाबद्ध रूपमा पहिलो चरणमा सम्मेलनले पारित गरेका र नयाँ पार्टीको अवधारणाका बारेमा चरणबद्ध क्षेत्रीय तथा जिल्ला भेलाहरू गर्ने योजना बनाएका छन् ।

त्यसपछि मात्र पार्टी खोल्ने छन् । यसमा मुलुकमा निर्वाचन हुने या नहुने भन्ने कुराले पनि ढिलोचाँडोको निर्धारण गर्नेछ ।

जनजाति नेताहरूबीच भएको पटक-पटकको छलफलमा नयाँ बन्ने पार्टीका लागि सञ्चालन खर्चको कुरा उठ्ने गरेको थियो । एक सहभागी भन्छन्, 'नेताहरूले खासमा आर्थिक समस्याकै कारण पनि पार्टी खोल्न हिच्किचाएका थिए । त्यसैले अवधारणापत्रमै पारदर्शी रूपमा कसरी पार्टी सञ्चालनको स्रोत परिचालन गर्न सकिन्छ भन्ने कुरा उल्लेख गरिएको हो ।'

आर्थिक परिचालन स्रोतका रूपमा अवधारणापत्रमा विदेशमा रहेका आदिवासी समुदायलाई एउटा प्रमुख स्रोतका रूपमा उल्लेख गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघसम्बद्ध विदेशस्थित संगठनहरूको कार्यक्रमका लागि हालै एमाले नेता पृथ्वी सुब्बा गुरुङलाई लिएर हङकङ पुग्नु र आइतबारै मात्र महासचिव आङकाजी शेर्पा बेल्जियम हुँदै पोर्चुगलका लागि प्रस्थान गर्नुलाई पनि त्यससँग आर्थिक स्रोत परिचालनको योजनासँग जोड्नेहरू छन् ।

संविधानसभा निर्वाचनअघि मधेसमा आधारित राजनीतिक दलहरूले जुन प्रकारले मुलुकको राजनीतिक शक्ति सन्तुलनमा फरक परेको थियो । त्यसैगरी आदिवासी जनजातिहरूले उत्पीडितहरूका लागि भनेर नयाँ पार्टी खोलेमा पहिचानको राजनीतिको नयाँ अध्यायको सुरुआत हुने छ ।

Read more...

किरांत राई यायोक्खा द्वारा साकेला उभौलीमा सहयोग गर्ने संघ संस्थाको नामावली सार्वजनिक



किरांत राई यायोक्खा दक्षिण कोरियाको उभौलीमा सहयोग गर्ने संघ संस्थाको नामावली सार्वजनिक गरेको छ। संस्थाले उपलब्ध गराएको बिवरण यस प्रकार छ।
किरात राई यायोक्खा दक्षिण कोरिया द्वारा आयोजित साकेला उभौली २०६९[मे १३,२०१२] सउलको बुल्वांगमा बिसाल जनसहभागिताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा पाल्नुभएका नव नियुक्त नेपाली राजदुत श्री कमानसिं लामाको प्रमुख अतिथि हुनुहुन्थियो । यसै गरी बिसेष अतिथिमा आदिबासी जनजाति महासंघका अध्यक्ष श्री भक्त सेरचन साथै अतिथिहरुमा NRN का वर्तमान अध्यक्ष के.पी. सिटौला, NCC का का.वा. अध्यक्ष शंकर बस्नेत ज्यु को उपस्तिथी रहेको थियो । उक्त कार्यक्रमका सभापतित्व कि.रा.या. द. कोरिया वर्तमान अध्यक्ष श्री टिका राईले गर्नुभएको थियो भने सो कार्यक्रममा कि.रा.या.का कानुनी सल्लाहकार श्री दिनेश राईले संचालन गर्नु भयो र अनौपचारिक कार्यक्रम कि.रा.या.,द.कोरियाका सचिब श्री प्रविन राईले गर्नुभएको थियो । सो कार्यक्रममा सहभागिता जनाउनु भएका सम्पूर्ण संघ-संस्था एबम जन-समुदायलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु भएकोमा हार्दिक धन्यबाद सहित आर्थिक सहयोग गर्नुहुने सहयोगी दाताहरु
संस्थागत सहयोगी/दाताहरु: रकम [वोन]
१) खोटाङ सेवा समाज १,०१०००/-
२)आदिबासी जनजाती १,०१०००/-
३) किरात याक्थुंम चुम्लुंङ ५१,०००/-
४) नेपाल तामांग संघ ५१,०००/-
५) नेपाल मगर संघ ५१,०००/-
६) नेपाल कोरिया व्यापार संघ ५१,०००/-
७) बाग्लुंङ सम्पर्क समिति ५१,०००/-
८) स्याङ्जा परिवार ५१,०००/-
९) मनांङ परिवार ५१,०००/-
१०) कास्की परिवार ५१,०००/-
११) तमुधीँ ५१,०००/-
१२) नेपाल गोर्खा परिवार ३१,०००/-
१३) नेपाल बौद्ध “ ३१,०००/-
१४) मुस्तांङ “ ३१,०००/-
१५) गल्फ क्लब १५,०००/-
व्यक्तिगत सहयोगी/दाताहरु: रकम [वोन] ठेगाना
१) ध्यान राई ३,००,०००/- भोजपुर जरायोटार ।
२) डा: यांङ जंङ सुंग ३,००,०००/-
३) कहर मान राई २,००,०००/- खोटाङ
४) बिज्ञान राई २,००,०००/- भोजपुर
५) मान्धोज राई १,१०,०००/- बाक्सिला,खोटाङ
६) बागधन राई १,००,०००/- बाक्सिला,खोटाङ
७) दिनेश राई १,००,०००/- उदयपुर
८) शेषाहांङ राई ६०,०००/- भोजपुर
९) गंगा लिम्बु ५१,०००/- पाँचथर
१०) दिल कु. लिम्बु ५१,०००/- पाँचथर
११) आश्विन राई ५१,०००/- खोटांङ
१२) चित्र कु. राई ५१,०००/- खोटांङ
१३)कुमार “ ५१,०००/- पाँचथर
१४) यम शेर्मा ५१,०००/- पाँचथर
१५) रिसमान गुरुङ ५१,०००/- शुभेक्षा मार्ट
१६) लोक ब. राई ५०,०००/- उदयपुर
१७) बिज्ञान राई ५०,०००/- मोरंङ
१८) हिमाल राई ५०,०००/- खोटांङ
१९) रानाहांङ इन्द्र ५०,०००/- खोटांङ
२०.) बिज्ञान राई ५०,०००/- खोटांङ
२१)प्रेम राई ५०,०००/- खोटांङ
२२) उदय राई ५०,०००/- खोटांङ
२३) श्याम राई ५०,०००/- मोरंङ
२४) रामकृष्ण राई ४१,०००/-
२५) अबिषेक गुरुङ ३१,०००/-
२६) यम श्री मगर ३१,०००/- [महासचिब आ.ज.]
२७) विजय गुरुङ ३१,०००/- [कोषादक्ष आ.ज. ]
२८) दोलोकुम राई ३०,०००/- भोजपुर
२९) राज कु. बान्तवा ३०,०००/-
३०) लाल ब. महरा ३०,०००/- रोल्पा
३१) भुपेन्द्र राई २५,०००/- धनकुटा
३२) अनिल राई २५,०००/-
३३) यमुना राई २०,०००/- काठमाडौँ
३४) जोन राई २०,०००/- धनकुटा
३५) अशोक राई २०,०००/- मोरंङ
३६) प्रदिप राई २०,०००/-
३७) कर्ण राई २०,०००/-
३८) नबिन गुरुङ २०,०००/- कास्की
३९) अनिल भण्डारी २०,०००/-
४०) कोपिला राई १५,०००/-
४१) लीना गुरुङ ११,०००/- पोखरा
४२) देवी गुरुङ १०,०००/- ”
४३) एकिन गुरुङ १०,०००/- ”
४४) बिष्णु गुरुङ १०,०००/- काठमाडौँ
४५) प्रकाश लिंग्देल १०,०००/-
४६) अनुप राई १०,०००/-
रेस्टुरेन्टबाट सहयोगी/दाताहरु:
१) बिनोद कुवर (दुर्गा रेस्टुरेन्ट) ५०,०००/-
२) बिपिन गुरुङ (नमस्ते इन सउल) ५१,०००/
Account:Menuka/Kopila President: Tika Rai

Read more...

कसले गरिरहेको छ जातीय राजनीति ?

राजकुमार लेखी र पासाङ शेर्पाले एमाले छाड्ने जानकारी दिएका छन्। यी दुई जनाले पार्टी छाड्दैमा एमालेलाई त्यति साह्रो-गाह्रो पर्दैन किनभने प्रचण्डले ३-३ करोड दिएर जनजाति र मधेशी नेताहरूलाई किनेको हल्ला एमालेका जिल्लास्तरीय कार्यकर्ताले फैलाउन थालिसकेका छन्। यी हल्लाले पार्टीमा जनजाति वा मधेशी नेताहरूले किन पार्टी छाडे वा किन छाड्दैछन्? भन्ने कुराको बहसको अन्त्य गरिदिन्छ र नेतृत्वको गलत नीतिको ढाकछोप गरिदिन्छ। अर्थात्, एमालेको नीति, कार्यक्रम सबै ठीक थियो र छ बरू जनजाति वा मधेशी नेताहरू नै खराब हुन्, उनीहरू पैसाको लागि बिके भन्‍ने हल्लाका आधारमा एमाले अगाडि बढ्नेछ। समस्या एमालेको मात्र होइन, कांग्रेस, अखण्डका माग गर्नेहरू, अनि पढेलेखेका भनिएका बाहुन-क्षेत्रीहरूको पनि हो। उनीहरूले आफूहरू इमान्दार, आफूहरू जान्ने, आफूहरू बुझेको, आफूहरू देश चलाउन सक्ने, आफूहरूले देश टुक्रन नदिने, आफू पैसाको लागि नबिक्ने, आफूलाई मात्र देशको चिन्ता भएको र जनजाति, मधेशी, मुसलमान, दलित वा अन्य वर्ग र क्षेत्रका मान्छेहरू जान्दैनन्, बुझ्दैनन्, देशलाई विगार्न लागे, देश टुक्र्याउन लागे वा यस्तै अनगिन्ति मनगढन्ते तर्क गर्छन्। यदि बाहुन, क्षेत्री, एमाले, कांग्रेस वा हिजोका पञ्चहरूले भनेकै सबै सही हुने, उनीहरूले मात्र विश्लेषण गर्न सक्ने, उनीहरू मात्र जान्ने-बुझ्ने र उनीहरूले नै भविष्यको आँकलन गर्न सक्ने वा उनीहरूले नै देश विकास गर्न सक्ने भए यो देशको हालत यस्तो हुने थिएन। किनभने २०० वर्षदेखि यो देशमा उनीहरूको हालीमुहाली थियो र छ। यहाँ पार्टीगत रूपमा वा व्यक्तिगत रूपमा कसैको कमजोरी देखाउन जरूरी छैन तर हाम्रो समग्र सांस्कृतिक चिन्तन नै यस्तो भएको छ कि बुढा-पाकाले नयाँ पुस्ताले जान्दैन, धान्दैन भनेर उनीहरूलाई अधिकार र हक दिंदैन वा दिन खोज्दैन। पुरूषहरूले महिलाले गर्न सक्दैनन्, जान्दैनन् भन्छन् र आफ्नो वर्चश्वमा रहेको कुरा गुमाउन चाहँदैनन्। सत्तामा हुने वा कुनै पनि पेशामा हुने आम मान्छे (वकिल, पत्रकार, व्यापारी, लेखक, कलाकार) राजनीतिक कार्यकर्ता, नागरिक समाज, पढे-लेखेका भनाउँदाहरूले सबै कुरा आफूले जानेको, बुझेको र अरूले वा नयाँले नजान्ने र नबुझ्ने तर्क मात्र गर्दैनन् बरू उनीहरूले ती काम गरेमा देश भाँडिने, सबै तहसनहस हुने तर्क गर्छन्। यस्तै तर्क हिजो राजाका वरिपरिकाले गर्थे, उनीहरूका विचारमा राजावादी शक्तिबाहेक अरूले देश चलाउन सक्दैन। राजा नरहे देश रहन्न। तर, त्यस्तो केही भएन। यदि हाल तर्क गरिएजस्तो मधेशी, जनजाति वा दलितहरू प्रधानमन्त्री हुँदा देश नरहने हो भने राजाको ठाउँमा आएका अहिलेका मठाधिशहरूले देश चलाउँदा पनि देश नरहनु पर्ने हो तर त्यसो भएन र हुन पनि सक्दैन। देश कुनै एक व्यक्ति, क्षेत्र वा जातले बचाएर बच्ने कुरा होइन। यो सम्पूर्ण जनताहरूले बचाउने कुरा हो र त्यसका लागि समग्र जनता जागरूक हुन जरूरी छ। तर, जुन देशमा जनताले आफ्नो देश भन्ने गौरव प्राप्त गर्न सक्दैन, जुन देशमा अरू जनताले जस्तै समान अधिकार र अवसर पाउँदैन त्यो देशका जनताले देश बचाएर अर्को पक्षलाई सदैव पोस्ने काम गर्न सक्दैन। त्यो सम्भव छैन। अहिलेको समस्या पनि त्यस्तै हो। देशमा पहिले नै प्रभुत्व जमाएकाहरूले नयाँ आउन वा आउन सक्ने समुदायप्रति शंका गरिरहेको छ। यस्तो लाग्छ संसारमा उनीहरूले आफू बाहेक अरूलाई योग्य ठानेकै छैनन्। पार्टीभित्र देखिने जातीयता यसैको प्रतिविम्ब नेकपा एमालेमा देखा परेको छ। संविधान सभा चुनाव हारेका माधव नेपाल, केपी ओली लगायत संविधान बनाउन कस्सिए अर्थात् हिजो चुनावले केही हदसम्म खुस्काएको आफ्नो वर्चश्व अझ धेरै गुम्ने डरले उनीहरूले आफ्नै पार्टीभित्रको आवाजलाई दवाउने चेष्ठा गरे। फलस्वरूप उनीहरूले आफू नेतृत्वमा नभएमा समग्र देश भाँडिन्छ भन्ने मात्र सोचेनन् बरू रामचन्द्र झा हरूको आवाजलाई पनि मधेश टुक्य्राउने आवाजका रूपमा बुझ्न थाले। पासाङ शेर्पाहरूले मागेका अधिकारहरूलाई जातीय सद्‌भाव विथोल्ने मागका रूपमा बुझिन थाल्यो। यसैको फलस्वरूप भीम रावलको नेतृत्वमा अखण्ड सुदुरपश्चिमको आन्दोलन शुरू गरियो अनि जिल्लाका टुक्रे नेताहरूले “अखण्डता”का नाममा आन्दोलन गरे। जातीय सद्‌भाव विग्रेको भन्दै उचालिए र आफैसँग २० औं वर्षदेखि काम गरिरहेका आफ्नै साथीहरूलाई विश्वास गरेनन्। यो मामलामा कांग्रेस पनि केही कम छैन। यसको नेतृत्वले पनि यो देशमा बाहुन-क्षेत्रीले मात्र जातीय सद्‌भाव कायम गरेको, उनीहरूले मात्र देश जोगाएको र देश टुक्रन नदिनेमा विश्वास गर्छ। यसले पनि मधेशी, जनजाति र दलित जनताले लोकतन्त्रप्रति देखाएको आस्था र विश्वासमाथि शंका गर्छ। त्यसैले त कांग्रेसमा कोइराला (बीपी, मातृका, गिरिजा, शुशील, सुजाता, शेखर, शशाङ्क आदि) महत (रामशरण, प्रकाशशरण) र केसी (अर्जुन नरसिंह, बलबहादुर, खुमबहादुर, गगन थापा लगायतका)का सपरिवार, एमालेमा पाण्डे (सुरेन्द्र, राजेन्द्र), ज्ञवाली (प्रदिप, युवराज), पोखरेल (ईश्वर, शंकर) वा नेपाल र माओवादीमा दाहाल, भट्टराईहरूका सपरिवारले राजनीति गर्दा त्यहाँ जातीय राजनीति हुँदैन तर पूर्वको राई र पश्चिमको मगर वा हिमालको शेर्पा र तराईको थारू समुदाय मिलेर आफ्नो अधिकार माग्दा जातीय राजनीतिका रूपमा परिभाषित गरिन्छ। कतिसम्म भने नेपाली कांग्रेस भित्र चर्चित भनेर चिनिने र आफूलाई जात वा धर्म भन्दा माथि राख्‍न खोज्ने युवा नेता गगन थापाले महाधिवेशनमा पाएको भोटमा जातीय गन्ध मिसिएको थियो। घोषित रूपमै क्षेत्रीहरूलाई जिताउने योजना अनुरूप गगन थापा, अर्जुन नरसिंह केसी, खुमबहादुर खड्काले महाधिवेशनमा सबैभन्दा धेरै भोट ल्याएका थिए। यो कुरा थाहा पाएर शुशील कोइराला त्यतिवेला नै रिसाएका थिए। यसरी पार्टी भित्र नै जातीय गठबन्धन गर्नेहरूले जातीय राजनीति गरेको ठहर्दैन तर आफ्नो हक, अधिकार माग्ने जनजाति वा मधेशीले भने जातीय राजनीति गरेको आरोप लाग्ने गर्छ। अहिले संघीयता वा जातीय अधिकारको कुरामा सबैभन्दा धेरै विवाद र विरोध गर्नेमा हिजो जातीय राजनीति गर्नेहरू यिनै सबैभन्दा सक्रिय छन्। त्यसैले जातीय राजनीति गलत हो भने यस्तो खालको जातीय राजनीति पनि बन्द हुनुपर्छ होइन भने आफूले गरेको जातीय राजनीति सद्‌भावका लागि हुने र अरूले गरेको जातीय राजनीति वैरभावका लागि हुने दोहोरो मापदण्डले कसैको भलो गर्दैन। ठूला-ठूला आदर्शका कुरा गर्ने र अरूलाई अर्ति दिने थापाले भीमबहादुर तामाङको पक्षमा एक शब्द बोल्न चाहेनन् वा उनको नजिक हुन पनि चाहेनन् किन भने त्यसो गरेको भए उनी चुनाव हार्ने थिए। केन्द्रीय सदस्यमा जित्‍ने लोभमा उनले आदर्शको राजनीति छोडिसकेका थिए र जातीय राजनीतिमा सक्रिय थिए। मिडिया र अन्य यो सांस्कृतिक वर्चश्वको मानसिक समस्या भने मिडियामा अझ चर्को छ। माउन्टेन टेलिभिजनले बाहुन-क्षेत्रीहरूले गरेको आवेशपूर्ण भाषणलाई LIVE टेलिकास्ट गर्दा पनि त्यहाँ जातीय सद्‌भाव नै झल्कियो अनि NEWS24का पत्रकारले पत्रकार भन्दा पनि कार्यकर्ताका रूपमा मञ्चमै कराँदा पनि जातीय सद्‌भाव र पत्रकारको हक, अधिकारका रूपमा परिभाषित गरियो। स्वतन्त्र हुनुपर्ने पत्रकारहरूले नै “अखण्ड”का नारा लगाउँदै त्यसको पक्षमा आन्दोलन गर्दा होस् वा जनजाति, मधेशी र दलितहरूको आन्दोलन र व्यक्तिलाई होच्याउँदा पनि त्यहाँ जातीय सद्‌भाव नै देखियो तर जातीय पहिचानको पक्षमा आन्दोन गर्ने कार्यकर्ताले लगाएको नाराले भने जातीय सद्‌भाव विथोलेको आरोप लगाइयो। अहिलेको समस्या पत्रकार र जनजाति कार्यकर्ताका माझ भएको होइन वरू पत्रकारका नाममा “अखण्ड” चाहने वा पार्टीगत कार्यकर्ताका रूपमा संघीयताको विरोध गर्ने कार्यकर्ता र जनजाति आन्दोलनका कार्यकर्तामाझ भएको झडप हो। त्यसैले यसलाई पत्रकारहरू माथिको हस्तक्षेप भन्दा पनि एउटा पक्षको कार्यकर्ताले अर्को पक्षको कार्यकर्तामाथि गरेको हस्तक्षेप भनेर बुझ्न सजिलो हुन्छ। त्यसो त सबै ठाउँका घटनालाई त्यसै रूपमा बुझ्ने भुल भने गर्न सकिंदैन र केही हिंस्रक घटनाका लागि भने आन्दोलित पक्षको दोष देखिन्छ। दरबार मार्गमा देखा परेका विशेषत: बाहुन, क्षेत्री, नेवार (व्यापारी) र NGO, INGO मा काम गर्ने केही जनजातिहरूको सद्‌भाव र्‍यालीले अर्को दिनका सबै मिडियामा ठाउँ पायो, फ्रन्ट पेजमा, मेन हेडलाइनमा तर बसन्तपुरमा भएको आमसभाले कतै चर्चा पाएन, त्यहाँ के कुरा बोलिएका थिए भन्ने कुरा कतै सुनिएन। यस्ता अनगिन्ति उदाहरणहरू देख्न सकिन्छ जसले एउटा समूहलाई जान्ने, बुझ्ने, विश्लेषक, चिन्तक र देशका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक वा पेशागत रूपले सु-सभ्य नागरिकका रूपमा परिभाषित गर्छ र आफू बाहेका सबैलाई बहिष्कार गर्न चाहन्छ वा आफ्नो नजिक नआउन् र आफूले ओगटेको ठाउँमा साझेदारी नगरून् भन्ने चाहन्छ। समय थोरै छ। मिलेर बाँड्ने हो भने सबैले पाउने वातावरण बन्न सक्छ होइन भने कलम हुनेले कलमले लेखेर विरोध गर्छ कलम नहुनेले आफूसँग भएको हतियार (कोदालो, हँसिया)ले लेख्‍न शुरू गर्छ। हो आफूले पाएको हक, अधिकार र सुविधा दिन सबैलाई गाह्रो नै हुन्छ तर बृटिशहरूले भारत छोडेको कुरा वा अफ्रिकामा गोराहरूले गरेको सम्झौता भने सम्झनै पर्छ। अधिकार सबैले पाउनु पर्छ र आफ्नो अधिकार प्राप्त गर्नका लागि फेसबुक हुनेले फेसबुक, ब्लग हुनेले ब्लग र ट्वीटर हुनेले ट्वीटर तथा रेडियो, टेलिभिजन र पत्रिकाको प्रयोग गर्ला तर यस्ता साधन नहुनेले बोल्नै पाउन्न, लेख्नै जान्दैन, बुझ्दै बुझ्दैन र उनीहरू असक्षम छन् भन्ने पक्कै होइन। यो कुरा वर्चश्व कायम राख्‍न खोज्ने पार्टी वा पार्टीका नेताहरूले मात्र होइन आम नागरिक, पेशाकर्मी, बुद्धिजीवि र पार्टी कार्यकर्ता सबैले वेलैमा बुझ्न जरूरी छ। (तत्कालिन आवेशपूर्ण घटनाक्रममा यो लेखले नकारात्मक प्रतिकृया जन्माउला भन्ने ठानेर पोष्ट नगरेपनि यो विषयको सान्दर्भिकता अझै छ र आगामी दिनमा अझै बढ्नेछ भन्ने लागेर केही ढिला पोष्ट गरेको छु।)

Read more...

गायक राजेश पायल राई को फेरी अर्को रेकर्ड

गायक राजेश पायल राईले मंगल बार राजधानीमा एक समारोह बीच चार एल्बमको एकसाथ सार्बजनिक गरेका छन्।  गायक राईको यो अर्को एक रेकर्ड हो। एकसाथ चार एल्वम वजारमा ल्याएर राईले यो रेकर्ड कायम गरेका हुन् । यसभन्दा अघि एक दिनमा आठ गित रेकर्ड गराएर उनले रेकर्ड कायम गरेका थिए । गायक राईको एल्वम विमोचनमा पुर्वप्रधानमन्त्रीहरु लोकेन्द्र बहादुर चन्द र माधवकुमार नेपाल पुगेका थिए । पुर्वप्रधानमन्त्रीद्धय नेपाल र चन्दले संयुक्त रुपमा चार एल्वमको विमोचन गरेका हुन् ।

सो कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीद्धयले राईको बैबाहिक जिवनबारे रमाईला कुराकानी गरेका थिए साथै गएक राईलाई वैवाहिक जीवनमा वाधिन वारम्वार आग्रह समेत गर्न भ्याएका थिए । उनले वजारमा ल्याएको पहिलो चार एल्वम मध्ये "मेड इन नेपाल" राष्ट्रियताको भाव झल्कने एल्वम रहेको छ भने , एल्बम "मुर्छुना " भाग २ मा आधुनिक गितहरु समावेश गरिएको छ । गायक राईको पहिलो एकल एल्वम "मुर्छुना" रहेको थियो ।  यस्तै, उनको अर्को एल्बम "जदौ " भाग ३ मा  लोकगितहरु समावेश गरिएको छ भने यसका साथमा उनले एकसाथ बिमोचन गरेको चौथो एल्वम "आरसेवारो"  लिम्वु भाषामा तयार पारिएको छ जसमा लिम्वु भाषाका गितहरु रहेका छन् । यसका साथमा राईले स्वर दिएका गितहरुको संग्रह " राजेश पायल राईका स्वर" पुस्तक पनि कार्यक्रममा विमोचन गरिएको थियो ।

एकसाथ चार एल्वम वजारमा ल्याएर राईले गिनीज वुकमा नाम लेखाउने तयारी समेत गरेका छन् । उनले, आफुलाई गिनीज वुकवाट धन्यवाद ज्ञापन सहितको दुई पत्र आईसकेको वताए । कार्यक्रमा गायक राजेश पायलले विभिन्न पाँच गित समेत गाएका थिए । यस्तै, विमोचन कार्यक्रममा केही गितको म्युजिक भिडियो समेत देखाईएको थियो ।

Read more...

बिहारमा खम्बुवानका सन्तान

नेपाल एकीकरण अभियानताका गोर्खाली फौजसँगको हारपछि आत्मसमर्पणको साटो पलायन रोजेका खोटाङ र भोजपुरका किरातीहरू बिहारको सुपौलमा चौरासी जमिनदारका रूपमा परिचित छन्।
डम्बरकृष्ण श्रेष्ठ
मैथिल किरात परिवारः सुपौलको त्रिवेणीगञ्जस्थित आफ्नै घरमा ध्रुवनारायणसिंह राई, उनकी श्रीमती मालती तथा छोरीहरु अलका र अनामिका (दायाँ)।
          निस्पट्ट अँध्यारो रात, चकमन्न हतुवा गढी दरबार। राजा अटलसिंह राई खोपीमा घुरिरहेका थिए, सिरानी मुनिबाट खुकुरीको बिँडले बाहिर चियाइरहेको थियो। आधा जति रित्तिएको तीनपानेको कठुवा (काठको भाँडो) र चाँदीको कचौरा ओछ्यानछेउमा थियो। २५० वर्षअघिको त्यो दुर्भाग्यपूर्ण रातमा हाल दक्षिणी भोजपुरको रानीवास गाविसमा पर्ने डाँडाको हतुवा गढीमा गोर्खाली हमला हुँदैछ भन्ने सुईंकोसम्म थिएन, अटलसिंहलाई।
त्यसअघिको इतिहासबारे अटलसिंहको नवौं या दशौं पुस्ताकी बुहारी सुखमाया देवी राईले भनेकी छन्:
“हमरुलाई हमरको सासूले भनेको, सासूलाई उसको सासूले र उसको सासूलाई उसको सासूले भनेको, अटलसिंहको ठूलो घर थियो। यो कुरा थाहा भएपछि पश्चिमको राजाले एउटा बाभन (बाहुन) पठायो। बाभनले हाम्रो राजाले तिमीलाई भेट्न बोलाएको छ भनेर खबर सुनायो। अटलसिंहले जा, तेरो राजालाई नै पठा भनेर बाभनलाई बिदा गर्‍यो। अनि लडाईं भयो रे! त्यस राजाको सेना धेरै थियो। अटलसिंह भाग्यो, सेनाले खेदायो। भाग्दै जान्छ रे, पछि-पछि ढोल बजाउँदै खेदाउँछ रे! यसरी भाग्दाभाग्दै यता आइपुगेको। हमरुलाई श्रीहाङ पाछा भन्छ। पहिला जातको राजा पनि भन्थे। हमरको घरलाई हवेली भन्थे, न्यौतामा १२ सुपारी दिन्थे।”
माथिका दुवै प्रसङ्ग हाल त्रिभुवन विश्वविद्यालयमा सह-प्राध्यापक रहेका डा. विष्णुसिंह राईले लेखेको पुस्तक खम्बुवानबाट हराएका सन्तानहरू बाट उद्धृत हुन्। डा. राईले भारतको बिहारमा शुरुमा ठूल्ठूला जमिनदारी सम्हालेका ४/५ हजार राई रहेकोमा अहिले यो सङ्ख्या साढे पाँच सय जति भएको अनुमान गरेका छन्। उत्तरी बिहारको सुपौल र मधेपुरा जिल्लाका गोनाहा, बाजितपुर, लरहनिया, डपरखा लगायत ९ ग्राम पञ्चायतका १५ भन्दा बढी गाउँमा किरात-राईहरू छन्।
नेपाल एकीकरणको क्रममा गोर्खालीहरूले काठमाडौं पूर्वको अभियान थालेपछि माझ्किरातका खोटाङ, भोजपुर र उदयपुरका थुम-थुममा भीषण लडाईं भएका थिए। बन्दुक-बारुदको प्रयोग थालिसकेका ठूलो र सङ्गठित गोर्खाली फौजसँग खुकुरी, धनु र गुलेली चलाउने असङ्गठित किरातीहरूको पराजय निश्चित भयो। पराजयपछि आत्मसमर्पण नगरेका हलेसीदेखि हतुवासम्मका चाम्लिङ, पुमा, सुनुवार, वान्तवा, कोयु, साम्पाङ र थुलुङ थरका किरात राजा/मुखियाहरू अटलसिंहकै अघिपछि लागेर कोशी नदी पछ्याउँदै बिहार झ्रेका थिए। उनीहरूको साथमा केही बाहुन, गुरुङ, दर्जी र विश्वकर्मा परिवार पनि थिए। गोनाहा ग्राम पञ्चायतका पूर्व मुखिया रामेश्वरसिंह चाम्लिङ राई (७१) ले बिहारमा आफूहरू १० औं पुस्ताको राई भएको हिमाल लाई बताए।
     
किरात नश्ल, संस्कार मैथिल

नश्ल मात्र बाँकीः गोनाह ग्राम पञ्चायतका पूर्व मुखिया रामेश्वरसिंह चाम्लिङ राई।

नेपाल र भारत बन्नुअगावै बिहारमा बस्ती बसाएका राईहरूले आज पनि माछाकुमा (पितृ स्थान) राख्ने, मर्चा, जाँड र तीनपाने बनाएर खाने चलन छाडेका छैनन्। नेपालका राईहरूकै अनुहार छ उनीहरूको। र पनि, उनीहरूको रहन-सहन, खानपिन, चाड-उत्सव, जन्मिँदा-मर्दाको संस्कार मैलिमय (हिन्दू) छ। बिहेवारी मैथिल विधिबाट हुन्छ। मैथिल शैलीका हरेक घरका आँगनमा तुलसीको मठ देखिन्छ। सुँगुर-बङ्गुर छाडेर माछा र रोटीको पारखी बनेका छन्। उधौली-उभौलीमा माछाकुमामा चोखोनितो त गर्छन्, तर साकेला (साकेवा, सान्केवा) चाडबारे थाहा छैन। कसैकसैले चुल्हा र माछाकुमामा पितृहरूलाई भाले, अदुवा र रक्सी चढाउँछन्। नयाँ बाली पूर्वजहरूलाई चढाउँछन्।
कुनै समयमा वैवाहिक सम्बन्ध स्थापित गर्ने स्थानीय राजपुतहरूको प्रस्तावलाई अस्वीकार गरेका बिहारी राईहरूले स्वजातीय भन्दा बाहिर बिहेवारी गरेको अपवाद विरलै भेटिन्छ। अढाइ शताब्दीबाट मैथिलहरूको बीचमा रहेका उनीहरू ६०/७० वर्षअघिसम्म आफ्नै भाषा बोल्थे। अहिले घरमा नेपाली र बाहिर मैथिल वा हिन्दी बोल्छन्। उनीहरूको नेपाली पनि अब त अनौठो भइसकेको छ। जस्तो, हामी- हमर, गाडी रोक- गाडी ठाडो गर, पानी रोकियो- पानी निको भयो आदि। “हिन्दू संस्कृतिमा आधारित भारतीय संस्कार छ, हाम्रो”, पूर्व मुखिया रामेश्वरसिंह भन्छन्, “मरेकालाई गाड्दैनौं जलाउँछौं, क्रियाकर्ममा बाहुन बोलाउँछौं। उधौली-उभौली सुनेका छौं तर त्यसमा के हुन्छ थाहा छैन। हाम्रो त राई नश्ल मात्रै बाँकी छ, बाँकी सब मैथिल भइसक्यो।”
कुनै जमानामा अङ्ग्रेज शासकहरूसित उठबस गरेका र आँखाले नभ्याउने जमिनको स्वामी बनेका राईहरू स्थानीय कर उठाउँथे। सन् १९३० सम्म बिहारका किराती महिलाहरू काम गर्दैनथे, राजसी ठाँट थियो। अङ्ग्रेजहरूसँगको सम्बन्ध र जमिनदारीका कारण भारतीय स्वतन्त्रता सङ्ग्राममा यहाँका राईहरूको संलग्नता रहेन। सन् १९६२ मा चीनसँग लडाईं हुँदा भने भारत सरकारलाई मन खोलेर नगद-जिन्सी सहयोग गरेका थिए। डा. राईको पुस्तकका अनुसार, अटलसिंहका पनाति होरिलसिंह चौतरिया र राजनसिंह चौतरिया पछि बिहारका राईहरूले आफ्नो पुर्ख्यौली थातथलोलाई पूर्ण रूपमा बिर्सेर मैथिल संस्कृति अपनाए। त्यसयता उनीहरूले वैद्यनाथसिंह, दिनदयालसिंह, प्रियवर्तनारायणसिंह, दुखवरसिंह, उषा रानी, सुधा रानी, मुन्निसिंह जस्ता नामहरू राख्न थाले।
३१ वर्षदेखि त्रिवेणीगज्ज हाईस्कूलमा शिक्षक रहेका ध्रुवनारायणसिंह राई (५८) गौरवशाली पुर्खाका सन्तानहरू समयसँगै छिन्नभिन्न हुन लागेको बताउँछन्। आउँदो महिनादेखि प्रधानाध्यापक हुन लागेका हिन्दी र अङ्ग्रेजीमा स्नातकोत्तर उनले पछिल्लो समयमा भने आफ्नो संस्कृति र नेपालसँग नजिक हुन थालेको बताए। हिन्दी र मैथिलीका प्रतिष्ठित कवि समेत रहेका उनले त्रिवेणीगन्जस्थित निवासमा हिमाल प्रतिनिधिसँग भने, “मेरा पिताजीका हजुरबा हर्कलालसिंह र उहाँका पनि बाजेहरूले सुनाउँदै आएको नेपालको कथा अब त धेरै धुमिल भइसक्यो।”
हरेक दिन तुलसीको मठमा जल चढाएर पूजा गर्ने कवि पत्नी मालती राई (५०) ले आफ्ना पाँचै छोरीको विवाह नेपालका राईहरूसँग गराउन चाहेको बताइन्। यो दम्पतीले ठूली छोरी माधवीलाई धरान, माइली अनुपमालाई इटहरी र काइँली अनामिकालाई सिरहाका सजातीय वरसँग विवाह गराइदिएका छन्। गहिरो मैथिल प्रभावमा परेको बिहारका राई परिवारमा प्रेम वा भागी विवाहले प्रश्रय पाएको छैन, अझ्ैसम्म अभिभावकको रोजाइ र प्रबन्धबाटै विवाहहरू हुने गरेका छन्।
कवि ध्रुवनारायण नेपालतिरको पारिवारिक सम्बन्ध बढ्दै जाँदा नातिनातिनाको पालासम्ममा परिवारमा किरात संस्कारले फेरि ठाउँ पाउने आशामा छन्। लामो समयसम्म आफ्नो उद्गमभूमिप्रति बेखबर बिहारका राईहरू आफ्नो जाति, संस्कृति, इतिहास र सिङ्गो परिचय खोज्न जागृत भएको उनको अनुभव छ। साथै, मैथिलहरूसँग मिलेर बसेको इतिहास र मैथिल संस्कृतिप्रति पनि उनको गर्व छ। ३० वर्षअघि नेपाल र पहाड हेर्न श्रीमतीसँग धनकुटाको हिलेसम्म उक्लेका ध्रुवनारायण भन्छन्, “हाम्रा तन्नेरीहरूमा नेपाल र त्यहाँको आफ्नो जातीय संस्कृति जान्ने-बुझने चाहना देखिँदैछ।”

स्नातकमा अध्ययनरत डफरखाकी सारिकासिंह राई (२२)ले इतिहास जान्ने मन भए पनि पुर्खा, मूल संस्कृति र भाषाबारे बुबाआमा नै अनभिज्ञ रहेकाले कठिन भएको बताइन्। दुई चार दिन धरान र काठमाडौं घुम्दा आफ्नो नेपाली लवजमा अलिअलि सुधार आएको उनले सुनाइन्। ६ वर्षअघि मोरङ थलाहाकी हिमा राईलाई जीवनसँगिनी बनाएका डफरखाकै भोलाप्रसादसिंह मुकारुङ (३५) ले बिहेपछि मात्र नेपालको किरात संस्कारबारे थाहा पाएको बताए। उनी पनि आफ्ना दुई छोरीको घरजम नेपालमै गराउन चाहन्छन्। तर, दुलही भएर नेपाल आएका हुन् या बिहार गएका, स्थानीय संस्कृतिका कारण समाजमा घुलमिल हुन निकै गाह्रो पर्ने गरेको छ। हिमा भन्छिन्, “बोली-चाली नमिल्दा शुरुमा त मन अडाउनै गाह्रो भयो।”
नयाँ पुस्तालाई आफ्नो जातीय जरो देखाउन कवि तथा शिक्षक ध्रुवनारायणसिंहको पहलमा त्रिवेणीगञ्जमा २४ पुसमा नेपाल-भारत साहित्यिक सांस्कृतिक सम्मेलन नै आयोजना गरियो, जसमा नेपाल, दार्जीलिङ र सिक्किमका राईहरू आमन्त्रित थिए। सोही सम्मेलनको अवसरमा १० वर्षपछि जन्मथलो पुगेका सह-प्राध्यापक डा. राईले बिहारको विकासले राई समुदायमा पनि निकै परिवर्तन ल्याएको र नेपालतिरको पारिवारिक सम्बन्धहरू बढेको बताए। अर्का सहभागी प्रा.डा. नोवलकिशोर राई भन्छन्, “सुपौलका राईहरूमध्ये कतिले आफू किरात हुँ भन्ने पनि बिर्सेका रहेछन्, उनीहरूको मातृभाषा मैथिल भइसकेको रहेछ।”
जमिनदारी शान हिमाल प्रतिनिधि गएको फागुन दोस्रो साता गोनाहा ग्राम पञ्चायतका पूर्व मुखिया रामेश्वरसिंह चाम्लिङको घर पुग्दा उनी आँगनसँगैको बैठक कक्षमा गाउँलेहरूका बीच कचहरीको तयारी गर्दै थिए। कोशी नदीले सिंचेको यो भेगमा अझै कायम राईहरूको जमिनदारी शानको सङ्केत हो, यो। त्यहाँका राईहरूमध्ये कतिपयसँग अझ्ै पनि ६० बिघासम्म जग्गा छ र उनीहरूको जीविकाको मुख्य माध्यम कृषि नै हो।
जग्गावाल राई घरमूलीहरू अझ्ै पनि खेतमा काम गर्दैनन्। खेतीका लागि अरूहरूले मजदुरी गर्छन्। १६ फागुनको मध्यान्हमा बाजितपुरको खेतमा चरा धपाउँदै गरेका जयदेवसिंह (६५) र उनकी श्रीमती रमादेवीसिंह राई (६०) ले आफूहरू जमिनदार परिवारका भएकाले काममा रेखदेख मात्र गर्ने गरेको बताए। शुरुमा असीमित भूमि भए पनि तीनपाने (मदिरा)मा मस्त हुने बानी र स्थानीय राजपुत जमिनदारहरूको चलाखीका कारण अहिले धेरै राईसँग ज्यादै कम मात्र खेत बाँकी रहेको रहेछ।
बिहारमा जमिनदारको रूपमा डफरखाका पुरनसिंह वान्तवा राईको ठूलो ख्याति छ। १४ सय बिघा जग्गाका मालिक पुरनसिंह राई शिक्षा र समाजसेवाको क्षेत्रमा पनि धेरै नामी थिए। सन् १८८० को भदौमा कोशी नदीले ल्याएको विनाशमा पुरनले उद्धारका लागि डुङ्गा परिचालन गरेर मानिसहरूलाई अन्नको व्यवस्था गरेपछि भागलपुर (अहिले सुपौल) का तत्कालीन अङ्ग्रेज कलेक्टर विलियमले घरैमा आएर उनको सम्मान गरेका थिए। सन् १८९८ मा सुपौल सब-डिभिजनको पहिलो हाईस्कूल स्थापनामा पनि पुरनसिंहको महत्वपूर्ण योगदान रह्यो।
अहिले पनि उनका सन्ततिसँग प्रति परिवार ५० बिघासम्म जमिन छ। पुरनसिंहका एक जनाति अमरकुमारसिंह आफूले थाहा पाउँदासम्म पनि नेपालको मोरङ र बिहारमा गरेर ७०० बिघा जमिन रहेको बताउँछन्। उनी भन्छन्, “तर, बाजे (कुँवर सिंह) बितेपछि रेखदेख भएन, उताको जमिन उताकाहरूले नै खाइदिए यता पनि हदबन्दी र बाँडेर, खाएर सिद्धियो।” डफरखामा प्रद्युम्नसिंह (७१) र लीलारामसिंह (६८) दाजुभाइको पनि ५० बिघा जमिन छ। “जाँड-रक्सी खाएर बस्ने सुरो जात राईहरूको थोरबहुत जमिनदारी शानमान अझ्ै कायम छ, रोपाइँ-कटाइ-पिसाइ सबै अरूले नै गर्छन्”, कवि तथा शिक्षक ध्रुवनारायणसिंह भन्छन्, “तर, समयक्रमसँगै अन्य समुदायका मानिसहरू शिक्षा र धन दुवैमा अगाडि आएकाले राईहरू सीमान्तकृत हुने अवस्था छ।”
कर्मथलो नेपाल
बिहारका राईहरूमध्ये विशेष गरी शिक्षण पेशा रोजेकाहरूले नेेपाललाई कर्मथलो बनाएका छन्। पढ्न र पढाउन नेपाल आएर यतै विवाह गरेपछि बिहार नफर्कनेमा संभवतः प्रा.डा. शम्भुनारायण सुधांशु पहिलो बिहारी राई हुन्। २०२२ सालमा सुपौलको बाजितपुरबाट आएका सुधांशु त्रिविमा ३० वर्ष प्राध्यापन गरेर अहिले विराटनगर-१३ मा सेवा निवृत्त जीवन बिताइरहेका छन्। बाजितपुरकै माधवसिंह राई र भानुप्रतापसिंह राई सुधांशु का छिमेकी छन्। माधवसिंह जुट विकास कम्पनी र भानुप्रताप शिक्षक काम गर्दागर्दै नेपालको स्थायी नागरिक भएका हुन्।
विराट साइन्स क्याम्पस र नेशनल एकेडेमी साइन्स एण्ड कमर्स कलेजका संस्थापक प्रमुख रहेका प्रा.डा. सुधांशु २०६० मा महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट सेवा निवृत्त भएपछि धनगढीस्थित नेशनल एकेडेमी अफ साइन्स कलेजका पनि भए, दुई वर्ष। त्रिवि अङ्ग्रेजी विभागका सह-प्राध्यापक डा. विष्णुसिंह राई पहिलो पटक २०३४ सालमा शिक्षक बनेर धनकुटा आएका थिए। २०४१ सालमा काठमाडौं पसेका उनी अहिले कीर्तिपुरका स्थायी बासिन्दा हुन्। डफरखाका ज्ञानप्रसाद चाम्लिङ काठमाडौंमै अग्नि इन्कर्पोरेटको मार्केटिङ विभागमा छन्। खोटाङको बाकसिलामा जागेश्वरसिंह राई र धनकुटाको चुङवाङमा खड्गनारायणसिंह राईले पढाइरहेका छन्।
कमल रिमालको सहयोगमा

अतीतदेखि वर्तमानसम्म

आफ्नो खेतीमा अन्य समुदायलाई काममा लगाउँदै बाजितपुरका जयदेवसिंह राई।

खम्बुवानबाट हराएका सन्तानहरू नामक पुस्तकका अनुसार, अङ्ग्रेजको फौजी सहयोग लिएर फर्कने विचारमा रहेका हतुवाका राजा अटलसिंह सन् १७७२/७३ तिर बिहार झ्रेको हुनुपर्छ। तर, अटलसिंह बिहार पुगेकोमा भने शङ्कै छ, किनभने उनी सख्त घाइते थिए। उनको छोरा टेकवीरसिंहको जीवन युद्ध सहायताका लागि अङ्ग्रेजकहाँ धाउँदैमा बित्यो। शरणमा आएका राईहरूलाई गोर्खाली विरुद्ध प्रयोग गर्न सकिने एउटा गतिलो कार्डको रूपमा हेरेका अङ्ग्रेजहरूले भने चाहेजति जमिनदारी, रैती र राजनीतिक सुरक्षा मात्र दियो, सैनिक सहायता कहिल्यै दिएन।
टेकवीरसिंहका छोरा गुमानसिंहले पनि बिहारको उब्जाउ मैदानलाई कहिल्यै आफ्नो भूमि ठानेनन्। अङ्ग्रेजहरूको भुलभुलैयाले उनलाई रिसाहा बनायो, जुन स्थानीय गरिब रैतीहरू माथि पोखिन्थ्यो। उनले सनक र रक्सीमा जीवन व्यतीत गरे। उनीपछि जातका राजा भएका राजनसिंह (१८३०-१८८०) ले क्षेत्रिनी भित्र्याएपछि राई समुदाय क्षुब्ध बने। नेपालमै हिन्दू प्रभावमा परेका उनीहरू मैथिल संस्कृतिमा चुर्लुम्म डुबे। त्यो बेलासम्ममा सबै राई घराना र परिवारले आफूहरूलाई चौरासी राई भन्न थालेका थिए।
राईहरूले आफ्नो जमिन र लडाकू ख्याति कसरी गुमाउँदै गए भन्ने कुरा सादरसिंह चाम्लिङ (१८३५-१८९०) र अचलसिंह चाम्लिङ (१९०५-१९८०) को प्रसङ्गले बुझाउँछ। सादरसिंहको १४४८ बिघा जमिनमा स्थानीय जमिनदार वनवारी बाबुले दाबी गरेपछि लडाईंको स्थिति आयो। वनवारीले पश्चिम बिहारका छपरादेखि र बलियासम्मका लठैत झिकाए भने सादरसिंहका लागि चौरासी राईहरू लछमिनिया खोला किनारमा भेला भए। जब लडाईं शुरु भयो, लौरो घुमाउने लठैतहरू धनुकाँड र गुलेलीका मट्याङ्ग्राको निशाना बने। यसबाट सादरसिंहको जमिनदारी त जोगियो नै, चौरासीका राईहरूको लडाकूपन पनि एक प्रकारको आतङ्क बनेर पुनः स्थापित भयो।
त्यसपछि वनवारीले अदालतमा भएभरका नक्कली फौजदारी र देवानी मुद्दाहरू दर्ता गराए, जुन रक्सीमा मस्त भएर बस्ने सादरसिंहले थाहै पाएनन्। जति बेला थाहा पाए, त्यस बेलासम्म मुद्दाहरू उनलाई १४ वर्ष जेलमा राखेर सुकुम्बासी बनाउने चरणमा पुगिसकेको थियो। त्यसपछि, सुपौलमा डर र सम्मानका साथ हेरिने अचलसिंहको पारिवारिक झ्गडाले चौरासीका राईहरूलाई झ्नै कमजोर बनायो। बीसौं गाउँमा मालिक र बुढुवा भनेर पुकारिने अचलसिंह विरुद्ध उनकै दुई भाइ र भतिजहरूले अंश मुद्दा हालेपछि पूरै चौरासी दुई पक्षमा विभाजित भयो।
सादरसिंहको पालामा जस्तै अचलसिंहले आफ्ना पक्षका केही राईसहित स्थानीय मधेशीहरूलाई खेतमा तैनाथ गरे। तर, धान उठाउन चाहने राईहरूको जमातसँग न गुलेली थिए न त पहिलाको जस्तो प्रतिबद्धता नै। चौरासीका राईहरूले पुर्ख्यौली युद्धकौशल गुमाइसकेको देखियो। यो घटनासँगै बिहारका राईहरूको पहिलो सङ्गठित संस्था गोर्खा परिषद्को पनि मृत्यु भयो।
१९६९ मा शम्भुनारायणसिंह सुधांशु ले चौरासीका राईहरूलाई पाइलो नामको पत्रिकामार्फत आफ्नो संस्कृति र गौरवपूर्ण विगत सम्झ्ाउने प्रयास थालेकोमा पछि उनी आफैं नेपाल पसे। चौरासीका पठित युवकहरूले १९७६ मा प्रगतिशील राई समाज खोले, तर त्यो पनि पाँचै वर्षमा धरासायी भयो। यसबारे डा. राई लेख्छन्, “समाजको सात सदस्यीय कार्यसमितिमा दुई जनाबाहेक सबै स्नातक थिए। उनीहरूले जागिर पाएपछि समाजको लागि समय रहेन।”
राई समुदायका एक मात्र राजनीतिज्ञ विक्रमसिंह चाम्लिङ (१९३५-१९७६) फल खाने बेलामा खेतीकिसानीमा फर्कंदा चौरासीका राईहरूको राजनीतिक पहुँच सधैंका लागि हराएको निचोड डा. राईको छ। हुन पनि, समाजवादी पार्टीका तर्फबाट तत्कालीन त्रिवेणीगञ्ज अञ्चल सचिव भएका र पटक-पटक जेल परेका विक्रमसिंह विधानसभा निर्वाचनताका पिताको मृत्यु भएर घर आएपछि कहिल्यै राजनीतिमा फर्केनन्। राजनीतिमा सहकर्मी कर्पुरी ठाकुर बिहारको मुख्यमन्त्री र अनुपलाल यादव मन्त्री हुँदा विक्रमसिंह खेतीमा मस्त भए।


गैर-कृषि पेशामा जम्दै

नयाँ पुस्ताः आफ्नै ग्यारेजमा विदुरसिंह

नेपालका राईहरू सैनिक पेशामा जमे पनि जमिनदारीमा रमेका बिहारका राईमध्ये जम्मा तीन जना (हवल्दारसिंह वान्तवा, मोसाहेवसिंह चाम्लिङ र राम बेचनसिंह पुमा) ले सेना र प्रहरीमा जागिर खाए, त्यो पनि सन् १९५० अघि। समय क्रमसँगै जमिनदारी गुम्दै गएकाले नयाँ पुस्ता भने अहिले अन्य पेशा-व्यवसायमा लाग्न थालेका छन्। त्रिवेणीगञ्ज बजारको पश्चिम छेउमा देखिएको चाम्लिङ मोबाइल स्टोर उनीहरूको आर्थिक गतिविधि गाउँदेखि बजारतिर सर्न थालेको सङ्केत हो।
यो बजारमा जयन्तसिंह राईले मोबाइल पसल, विष्णुसिंहले ट्रयाक्टर पार्टस्, विदुरसिंहले मोटर ग्यारेज, चित्तरञ्जनसिंह राईले प्रिन्टिङ प्रेस र नवलभाष्कर राईले बोर्डिङ स्कूल चलाएका छन्। प्रिन्टिङ प्रेससँगै मोबाइल मर्मत पसल समेत चलाइरहेका चित्तरञ्जन (३६) जागिर नपाएपछि व्यवसाय शुरु गरेको बताउँछन्। पढालेखा राईहरू स्वाभाविक रूपमा खेती छाडी जागिर रुचाउँछन्, तर कठिन प्रतिस्पर्धा गर्नुपर्ने सरकारी सेवामा उनीहरूको राजनीतिक पहुँच नहुँदा अन्य व्यवसायमा लागेका छन्।

स्कूल सञ्चालक
नवलभाष्करा
छापाखाना सञ्चालक चित्तरञ्जन।

बाजितपुरका नवलभाष्करसिंह राई (२६)ले पनि त्रिवेणीगञ्जमै १-५ कक्षासम्मको अपोलो एकेडेमी आवासीय बोर्डिङ स्कूल चलाएका छन्। आठ शिक्षक रहेको उनको स्कूलका १०० विद्यार्थीमध्ये चार जना नेपालीभाषी छन्। पढेर बेरोजगार रहेका आफ्नै भाइ देव र आफन्तहरू समलबहादुर राई, राणाकुमार राई र भुपेन राईलाई शिक्षक नियुक्त गरेका नवलले आकर्षक रोजगारी समेत सिर्जना गर्न सकिने हुनाले स्कूल चलाएको बताए।

साहित्य र सङ्गीत


मैथिल, हिन्दी र अङ्ग्रेजीमा कलम चलाउने ध्रुवनारायणसिंह राई (हे.तस्बिर) को अंगुठा बोलता है खण्डकाव्य (१९९७) र फेस द मिरर (२००३) निबन्ध सङ्ग्रह प्रकाशित छन् भने हिन्दी महाकाव्य द्वापर गाथा प्रकाशोन्मुख छ। प्रगतिशील लेखक संघ, सुपौलका अध्यक्ष समेत रहिसकेका उनका असङ्ख्य फुटकर निबन्ध, कविता, गीत, गजल, लघुकथा प्रकाशित छन्। बिहारको सम्मानित साहित्यकारमा गनिने उनले निराला, जनतरङ्ग लगायतका साहित्यिक पत्रिकाको सम्पादन समेत गरेका छन्। नयाँ पुस्ताका राईहरू भने साहित्यमा उति सारो उत्साहित देखिँदैनन्।
ध्रुवनारायण अघि हलधरप्रसादसिंह इन्दुले साहित्य र सङ्गीतमा ख्याति कमाएका थिए। हिन्दी साहित्यमा एमए र सङ्गीतमा विम्युज उनी मधेपुराको आरकेबीए हाईस्कूलका संस्थापक प्रधानाध्यापक पनि हुन्। उनका रचनाहरू आगराबाट निस्कने सरस्वती संवाद र पटनाको अवान्तिका मा प्रकाशित हुन्थे। बिहारको सङ्गीतमा ख्याति कमाउने अन्य राई कलाकारमा अधिकलालसिंह फूलमोछा र गोपालसिंह डालोहोंछा पनि हुन्। इलाहावाद विश्वविद्यालयबाट सङ्गीतमा स्नातक अधिकलाल आफ्नो समयका नामी तबलावादक थिए।
२०५३ सालमा श्री पशुपतिनाथ सङ्गीतकला प्रतिष्ठान, काठमाडौंबाट समेत सम्मानित गोपालसिंह जनस्तरमा भिजेका कलाकार थिए। तबला, हार्मोनियम, भ्वाईलिन लगायतका वाद्ययन्त्रमा सिद्धहस्त उनी राम्रा शास्त्रीय गायक थिए। उनी मैथिलीका झुला, कजरी, फगुवा लगायत महाकवि विद्यापति रचित गीतहरू गाउँथे। दुई दशकदेखि विराटनगरमा साधना सङ्गीतालय चलाइरहेका सङ्गीत गुरु कुशेश्वर पनि बिहारकै राई हुन्। बिहार चटगाउँका विनोदसिंह राईले धरानमा सुर साँझ् सङ्गीत विद्यालय चलाएको एक दशक भइसक्यो।
पूर्वाञ्चलव्यापी सङ्गीत आइडलको आयोजना गर्ने धरानकै सरगम सङ्गीत विद्यालय सञ्चालक ओमप्रकाश राई पनि चटगाउँकै हुन्। दीपक लिम्बु, प्राश्ना शाक्य, विष्णु चेम्जोङ, झुमा वनेम आदि उनका चेलाचेली नेपाली सङ्गीत क्षेत्रमा जमिसकेका छन्। २० वर्षमा तीन पटक मात्र बिहारको आफ्नो जन्मथलो पुगेका ओम भन्छन्, “बिहारमा जन्मे पनि पुर्खाको थलोमै खुशी छु।”

Read more...

मिस किँरात खोज्दै रेनेशा राई

 नयाँ वर्ष २०६९ को अवसर पारेर राई समुदायमा रहेका युवतीको आन्तरिक प्रतिभालाई प्रस्फुटन गर्नको लागि राजधानीमा मिस किराँत २०१२ हुने भएको छ ।

किँरातीको ठूलो चाड उभौलीमा कोरियोग्राफर रेनेशा राईको स्टेप्स स्टुडियोले प्रतियोगिता आयोजना गर्न लागेको हो । राईका अनुसार अधिकतम २० प्रतियोगीले निर्णायक प्रतिस्पर्धामा भाग लिनेछन् । नेपालसहित विश्वभर छरिएर बसेका राई समुदायका अविवाहित युवतीलाई प्रतियोगितामा समेट्ने सोच बनाएको रेनेशाले बताएकी छिन् । अनलाईमार्फत फाराम खुलाइएको प्रतियोगिताका सहभागिताका लागि स्वदेशीलाई चैत २४ र विदेशीलाई चैत २६ मा अडिसन लिइने राईले जानकारी दिइन् ।

यस प्रतियोगिताको लागि पूर्व मिसनेपाल माल्भिका सुब्वा, मिस टुरिजम समृद्धि राई र कोरियोग्राफर जयनसुब्वा मानन्धरको तीन सदस्यीय  सल्लाहाकार समिति गठन गरिएको छ ।

Read more...

किरात राईहरुको महानपर्व साकेला मे १३ मा मनाउने

कोरियामा किरात राईहरुको महान पर्व साकेला  उभौली २०१२ यहि मे महिनाको १३ तारिख मनाउने तयारी भई रहेको छ । साकेला उभौली किरात राई यायोक्खा दक्षिण कोरियाको आयोजकत्वमा हुन लागेको हो ।

विदेशमा रहेता पनि जातिय लोक संस्कृति र परम्पराको संरक्षण सम्बद्र्धन गर्दे यसको परिचय गराउने उददेश्यले यो कार्यक्रम गर्न लागेको यायेक्खाका अध्यक्ष टिका राईले बताउनु भयो ।

कोरियामा रहेका नेपाली संघ संस्था लगायत विभिन्न पेशामा आबद्ध दाजु भाई तथा दिदी बहिनाहरुलाई उपस्थित भई कार्यक्रम सफल पारी दिनु हुन हार्दिक अनुरोध गर्दे सो दिन कार्यक्रम नजुधाई दिन आग्रह गरिएको छ ।

Read more...

किराँत जनवादी वर्कर्स पार्टी सरकारलाई हतियार बुझाउन तयार

पूर्वी नेपालमा सशस्त्र भूमिगत आन्दोलन गर्दै आएको किराँत जनवादी वर्कर्स पार्टीले सरकारलाई हतियार बुझाउने भएको छ । वर्कर्स र सरकारबीच मंगलबार शान्ति मन्त्रालयमा भएको वार्तामा आगामी बस्ने वार्तामा प्रक्रियागत ढङ्गबाट हतियार सरकारलाई बुझाउने सहमति भएको वर्कर्स्का तर्फबाट वार्ता संयोजक सुमन वान्तवाले जानकारी दिए ।

शान्ति मन्त्रालयका तर्फबाट शान्तिमन्त्री सत्य पहाडी, गृहराज्यमन्त्री भीमराज चौधरी र वर्कस बीच विभिन्न पाँचबुँदे सहमति भएको छ । वार्तामा विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने, आन्दोलनका क्रममा भएका सरकारी मुद्दा फिर्ता लिनुपर्ने लगायतका सम्झौता भएको हो ।वार्तामा भोजपुरका राजनीतिक संयन्त्रका प्रतिनिधि शेरधन राईले मध्यस्थताको भूमिका निभाएका थिए ।

Read more...

  © www.kiratraikorea.blogspot.com Edit by Tanka Sherchan 2012

Back to TOP